शासकको प्रभावमा गएर गरिने क्रान्तिले उसैको खेतला बनाउँछ: कृष्णहरी भट्ट

२०७५, फागुन २१ मङ्गलबार 343 Views

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य कृष्णहरि भट्ट प्रष्टरुपमा आफ्ना बिचार राख्ने एक जना युवा नेताका रुपमा चिनिन्छन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय भट्टसँग डायरी एक्सप्रेस साप्ताहिकले समसामायिक विषयमा गरेको कुराकानीः

० अहिले झण्डै दुई तिहाई मत पाएको नेकपाको सरकार छ यो सरकारलाई तपाईले कसरी हेर्नुभएको छ ?

यो ओली सरकार जनताको मतद्धारा निर्वाचित भएपनि भ्रष्ट दलाल र कमिसनखोरहरुको सञ्चालक समिति हो भन्ने हाम्रो पार्टीको बुझाई छ । यो सरकारले नक्कली र नचहिँदो जनबिरोधी कामहरु मात्रै गरिरहेको छ । प्रधानमन्त्रीले रेल ल्याउँछु, पानी जहाज ल्याउँछु भन्ने गरेका छन् । तर, नेपाली जनताको समस्या पानी जहाज ल्याएर समाधान त हुँदैन । नेपाली जनताका समस्याहरु समाधान गर्न सरकार गम्भिर बनेकै छैन । यो त केबल लुट धन्दालाई मात्रै हेर्ने गरेको हुँदा नत कम्युनिस्ट सरकार हो नत जनताको सरकार नै । अहिले संसदबादीहरुको गठजोड गरि बनेको पार्टी ओली नेतृत्वको पार्टी कम्युनिस्ट पार्टी नै होइन । अहिले ओलीहरुले कम्युनिस्टकै बदनाम गरिरहेका छन् ।

० जनताले त ओली र प्रचण्डको पार्टीलाई कम्युनिस्ट पार्टी नै भनेर भोट दिए त ?

नेपालमा कम्युनिस्ट पार्टीको गठनसँगै सुधारवादीधारको विकास भयो । नेपालमा कम्युनिस्ट पार्टीको गठन हुनासाथ किसान र मजदूरहरुको आन्दोलन चर्कियो । तराईको जिल्ला रौतहटमा भिषण किसान आन्दोलन भयो । त्यस्तै गरी हर्रेबर्रे काण्ड लगायतका आन्दोलनहरु पहाडमा पनि भए । मजदूर र किसानहरुलाई बिभिन्न भ्रमहरु छरेर एक हुन दिएनन् । त्यसरी भ्रम सिर्जना गरेरै रायमाझी, मनमोहन अधिकारी जस्ता ब्यक्तिहरुले राजासँग सम्झौता गरे । उनले पार्टी स्वतन्त्रताको वकालत पनि गरे । केशरजंग रायमाझीले पनि दरबारमा पसेर बहुदलिय ब्यबस्थामा १० महिनामा गर्न नसक्ने काम राजासँग मिलेर १० दिनमा गर्न सकिने हौवा फिजाए । उनीहरुको हविगत हामीले देखेकै हौं । कहिले दायाँ त कहिले बायाँ भन्दै जनयुद्धका नाममा प्रचण्डले जनतालाई भ्रम छरे । अहिले संसदवादी भएर पतनको दिशामा लागे । नेपाली जनतालाई दिएको भ्रम २०७२ सालको संविधान घोषणा पछि प्रष्ट भइसकेको छ । जनताले पनि अहिलेमयुरको प्वाख राखेका कागहरु रहेछन् भन्ने जानकारी पाइसकेका छन् । अबका दिनमा हाम्रो आन्दोलन नयाँ ढंगबाट अघि बढ्दैछ ।

० यो सरकार देउवाको नेतृत्वको सरकार भन्दा प्रगतिशिल हो ?

अहिले पूर्व माओवादी र एमाले भन्ने पार्टीहरु नाम फरक भएपनि व्यवहार र बिचार एउटै नै हो । नेपाली जनताको प्रगतिमा कसरी बाधा अड्काउ गर्ने भन्ने मात्रै यी दुई दलको योग्यता हो । जनतालाई बलियो बनाउने काम कहिल्यै पनि भएन । ओलीले दुई तिहाईको बलमा अरुण तेस्रो आयोजर्ना भारतलाई बेच्ने काम गरे । यस्ता राष्ट्रघाती काम हेर्दा कांग्रेस र अहिलेको ओली नेतृत्वको कम्युनिस्ट पार्टीको काममा कुनै फरक नै छैन । दलाल नोकरशाही पुजिँपति वर्गको बिरोध गर्नेहरु एक लाइनमा छन् भने दलाल पुँजिपतिहरु संसदीय व्यवस्थामा लागेका छन् ।

० नेपालमा सरकार सधै दक्षिणकै आर्शिवादले बन्ने गरेको आरोप लाग्छ । यो सरकारका विषयमा तपाईको दृष्टीकोण कस्तो छ ?

इष्ट इण्डिया कम्पनीले नेपालमा पनि बिभेदकारी काम गरेको हुँदा भारतीय स्वतन्त्रता संग््राममा नेपालीहरुले पनि भाग लिए । उनीहरुले पनि पछि धोका मात्रै दिए । उनीहरुले नेपाललाई पनि लिन सक्ने अवस्था थियो । तर, विविध कारणले असफल रहेँ । जस्तै उत्तरमा चीन जस्तो बिशाल राष्ट्र थियो । नेपालको प्राकर्तिक स्रोतहरु कब्जामा लिने काम भने गर्दै आएका थिए । नेपालका राजनीतिक शक्तिहरु एकजुट भएर जान नसक्नुका कारण नै विदेशीहरुको चलखेल बढेको हो । बिभिन्न देशका राजदूतावास धाएर जिबिकोपार्जन गर्ने चलनका कारण यो अवस्था आएको हो । नेपालको हितमा लाग्छु भन्नेहरुले त्यो काम कुनै हालतमा गर्नुहुँदैन । नेपाली राजनीतिमा हावी भएको निम्न पुजिँवादी चिन्तनका कारण नै यो अवस्था आएको हो ।

० अहिले प्रधानमन्त्रीले भ्रष्टाचारलाई सून्य सहनशिलतामा झार्ने भन्नुभएको छ । तर, अख्तियारकै आयुक्त घुस काण्डमा मुछिएका छन् नी ?

तपाई लोकमान सिंह कार्की प्रकरणलाई हेर्नुस् । कस्ले नियुक्ति गरेको थियो । नियुक्ति गर्दा खिलराज रेग्मी भएपनि प्रस्तावक त ओली, प्रचण्ड र सुशील कोइराला नै हुन् नी । त्यसैले भ्रष्टाचारको मूख्य जरो नै संसदीय ब्यबस्था हो । संसदीय राजनीतिमा भ्रष्टाचारलाई सून्यमा झार्छुभन्नु नै बकबासको कुरा मात्रै हो । सुनकाण्ड प्रधानमन्त्री ओलीसँग जोडिएका कारण सामसुम गरियो । किनकी अहिलेका प्रधानमन्त्री २०५१ सालमा गृहमन्त्री भएदेखि नै यी काण्डहरु गरिँदै आइएका थिए । यो क्लाइमेक्समा अहिले मात्रै आयो । अहिले संसदीय व्यवस्थाले नेपाली जनताको भलो गर्दो रहेनछ भन्ने कुराको पुष्टि भयो । नेपालमा संसदीय व्यवस्थाको उन्मुलन गरेर जनताको नयाँजनवादी व्यवस्थाको स्थापना गर्ने र सामाजिक न्यायमा आधारित बनाउने दिशामा लाग्ने हाम्रो लक्ष्य हो ।

० कम्युनिष्ट पार्टीमा लागेर क्रान्ति गरेर सम्झौतामा संसदीय व्यवस्थामा संलग्न हुनेहरुबाट पनि केहि नहुनु । क्रान्ति गर्नेहरु सधै त्यही रटिरहँनु । जनताले कहिले मुक्ति पाउँलान त ?

वास्तवमा जनतामा अन्यौल भएकै कारण शोषक सामन्तीहरुलाई सहज भइरहेको छ । त्यसैले नै जनतामा वैज्ञानिक चेतना जागृत गराउन जरुरी छ । वास्तवमा पहिलाका शासक अहिलेका शासकमा के फरक भयो ? २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीले उठाएका एजेण्डाहरु दुई तिहाईको कम्युनिस्ट सरकारले समाधान गर्न सक्यो कि सकेन भन्ने कुराहरुको मुल्यांकन जनताले गर्न जरुरी छ । जनताले पनि पीडा सहने र न्यानो मानेरै बस्ने हो पुजिँवादी चिन्तन रहुँन्जेल केहि पनि हुन सक्तैन । किनकी अहिले जनताहरु सचेत हुँदैछन् । अहिले जनता जुन जोगी आएपनि कानै चिरेका भन्ने अवस्थामा छन् । तथापि केहि ले यो होइन रहेछ भन्नेहरुको मत पनि बलियो बन्दै छ । हामी सम्झौता र टालटुले व्यवहारले नहुने रहेछ साथै भोटलाई किनबेच गर्ने राजनीतिबाट केहि फाइदा नहुने रहेछ भन्ने राम्ररी बुझेका छन् ।

हाम्रो संगठनले नेपाल सरकारले तोकेको भन्दा बढि रकम लिएर पढाएको गण्डकी मेडिकल कलेजमा हामीले आन्दोलन सुरु ग¥यौं । त्यसपछि उहाँहरु पनि झल्यास्स हुनुभयो । डाक्टर पढ्ने विद्यार्थीहरु पनि सचेत हुन नसक्नु कस्तो बिडम्बना हो ? यसरी जनसंघर्षको माध्यामले जनविद्रोहमा रुपान्तर गर्ने नेपाल कम्युनिष्ट पार्टीको कार्यनीति हो । हामी श्रृंखलावद्ध रुपमा काम गर्ने योजनामा छौं । अहिलेसम्म योजना बनाएर काम नगर्नु र सम्झौता गरेर जनतालाई धोका दिनुले नै जनतामा निरासा आएको हो । तथापि क्रान्ति सम्पन्न नभएसम्म हामी लडिरहँने नै हो । बच्चा जन्मिएपछि घिर्सिएर हिड्न खोज्छ । तर बारम्बार प्रयन्त गरेपछि हिडेरै छाड्छ नी ?

० देश विदेशमा हेर्दा क्रान्ति वा आन्दोलन गर्ने उमेर अवधि पनि युवाकालमै सम्पन्न गरिएका हुन्छन् । अहिले सबै पार्टीका नेताहरुको उमेर हदले क्रान्तिमा संलग्न होलान् जस्तो लाग्छ ?

एकदमै सहि हो । उमेरले मानिसको चेतना र संघर्ष गर्ने जोस र जाँगरलाई प्रभाव पार्छ नै तर, संघर्ष मूल कुरो शारिरीक होइन । हाम्रो त बौद्धिक संघर्ष पो हो । नेपालको सम्बन्ध विशिष्ट प्रकारको छ । हाम्रो पराजित र सम्झौता परस्त मानसिकता न हो । अहिलेसम्म भएका सबै संघर्षहरु सम्झौतामा टुङ्गिएका छन् । अर्कोतिर धर्म र अन्धविश्वासमा आधारित चिन्तनले पनि काम गरेको छ । मूल कुरो त वैचारिक रुपमा तयार हुनु नै हो । यहि कारणले नै नेपालका युवाहरु विदेशमा पठाइएको छ । विदेश जाने युवाहरु त्यहाँको अवस्था देखेर रुने गरेका छन् । तथापि राजनीतिक कारणले नै यो अवस्था आएको हो भन्ने उनीहरुे बुझिसकेका छन् । सबै चिज भएर पनि हाम्रो यो हविगत छ । अहिले विदेश गएर फर्केका युवाहरु नेपालमै केहि गरेर बस्ने जमर्को गरिरहेका छन् । वैचारिक रुपमा युवाहरुको हातमा जान्छ । आफु नमरुन्जेल पार्टीको नेतृत्वमा बसिरहँने प्रचलनका कारण यो अवस्था आएको हो । अहिले प्रचण्ड, नारायणमान बिजुक्छे, माहन विक्रम सिंह, सीपी मैनाली आजीबन पार्टीको प्रमुख बनिरहेका छन् । उनीहरु नमरुन्जेल पार्टीको प्रमुख पदबाट राजिनामा दिँदैनन् । यो राम्रो कुरा हुँदै होइन । यस्का लागि युवाहरु संगठीत हुन जरुरी छ ।

० तपाईको विचारमा भोलि सम्झौतामा नगई जितरै सत्ता परिवर्तन गराउन सक्ने अवस्था कसरी सिर्जना हुन सक्छ ?

नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन नै त्यही उद्देश्य पुर्तिका लागि हो । अहिलेसम्मको नेपालको राजनीतिमा हामी संगठित हुन सकिएन । त्यो नै मूल समस्या हो । क्षमता र योग्यता जस्ता सम्बन्धमा आधारित भएर पार्टीको गठन गरेर विकास गर्नुपर्ने हुन्छ । हाम्रो परराष्ट्र सम्बन्ध नै कस्तो बनाउने भन्ने भइसकेको छैन । शासकको प्रभावमा गएर गरिने क्रान्तिले उसैको खेतला बनाउँछ । जसरी केपी ओलीले नाकाबन्दीको समयमा राष्ट्रियताको अडान लिए तर, त्यो अडान धेरै दिन टिकेन । किनकी सरकारमा आउने बित्तिकै अरुण तेस्रो आयोजनालाई भारतमा लगेर बुझाए । जनजिविकाका सवाललाई हल गर्ने कामै नगरेपछि हामीले नेपाल कम्युनिस्ट पार्टीको पुनःगठन गरेका हौं । अहिले भारत र चीनलाई समेत ओलीले दिक्क बनाएका छन् । नेपाली जनतामा आधारित भएर क्रान्ति गर्नुपर्दछ भन्ने जागरण जनतामा आएको छ । अर्काले गरिदिएको आन्दोलनले फाइदा हुँदो रहेनछ भन्ने जनताले बुझिसकेका छन् ।

० तपाईका पार्टीका तत्कालिन कार्यनीतिहरु के के छन् ?

हाम्रो पार्टीको पहिलो कार्यनीति भनेकै जनसंघर्ष हो । त्यसका आधारहरु भनेको हाम्रो जनसंगठन मार्फत समाजमा रहेका अन्र्तविरोधहरु चर्काउने र व्यवस्थापन गर्ने र क्रान्तिको लागि तयार गर्ने । दोस्रो युवा चिन्तनमा आधारित संगठन बनाउने । तेस्रो सिद्धान्तनिष्ट आन्दोलन आजको आवश्यकता नै हो । सिद्धान्तलाई भ्रष्टिकरण गर्ने काम मात्रै भएकाले माक्र्सवाद भनेको बल प्रयोगको सिद्धान्त हो । तर, कहिले प्रयोग गर्ने भन्ने काममा हाम्रो ध्यान केन्द्रीत छ ।

० अन्तमा …..?
मेरा बिचारहरु राख्ने अवसर दिनुभएकोमा आभार व्यक्त गर्दछु ।